धादिङमा भोलीबाट लाखे जात्रा शुरु तयारी पुरा

धादिङमा भोलीबाट लाखे जात्रा शुरु तयारी पुराधादिङमा भोलीबाट लाखे जात्रा शुरु तयारी पुरा

झिंगु नेवाः समाज धादिङको आयोजनामा जनै पुर्णिमाको दिन अर्थात्  भोली देखि नेवार समुदायको प्रमुख चाड लाखे जात्रा सुरु हुँदैछ ।

भोलि विहान ७ः३० बजे धादिङबेसी बिचबजार चोक स्थित गणेश मन्दिरबाट जात्राको शुभारम्भ गर्न सबै तयारी पुरा भएको छ। लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो,यस पर्वलाई जोगाई राख्न विगत वर्षहरुमा पञ्चेबाजा बजाएर मनाइने गरिएपनि हाल नेवार समुदायको आफ्नै बाजा बजाई जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्राको अवसरमा नेवार समुदायको संस्कृति, परम्परा र पहिचानलाई मध्यनजर गर्दै भोलिदेखी परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिने झिंगु नेवा समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

भाद्र ४ गते गाइजात्राको अवसरमा विहान ७ः३० बजे यस वर्ष मृत्यु भएका ६ जना नेवार समुदायका मृतकको फोटो सहित गाई निकालिनेछ । दिउँसो २ः०० बजे देखि मृतक परिवारको घरसम्म लाखे सहित गाई जात्रा परिक्रमा गरिनेछ । त्यसैगरी, भाद्र ५ गते हिले जात्राको दिन दिउँसो २ः०० बजे देखि धादिङ बेसी बिचबजार क्याम्पस चोक देखि साघुटार पुल्चोकसम्म खेत रोपाइको अभिनय गर्दै लाखे सहित परिक्रम गरिने, भाद्र ११ गते दिउँसो २ः०० बजे देखि सुगमटोल स्थित श्री राधाकृष्ण मन्दिरबाट भगवान श्री कृष्णको रथ यात्रा निकाली लाखे सहित बजार परिक्रमा गरिनेछ ।

विशेष गरि लाखे नाँच हरेक वर्ष रक्षावन्धनको दिन देखि सुरु भई गाइजात्रा, रोपाई जात्रा, श्री कृष्ण रथ यात्रा सकेर तिज पर्वको भोलिपल्ट चतुर्थी (चौथी) को दिनमा भगवान श्री कृष्णको भेषमा सजिएका काल्पनिक कृष्णद्वारा लाखेलाई खड्गले शिर छेदन गरेर मार्ने गरिन्छ । लाखे मारे पछि यस वर्षको जात्रा समापन भएको मानिन्छ झिंगु नेवा समाज धादिङका सचिव सन्तोषराज श्रेष्ठले बताउनुभयो ।